TwitterFacebookRss


नेपालमा ड्रागनफल

नेपालमा ड्रागनफल २०५७ सालदेखि सर्वप्रथम ललितपुर भैसेपाटी स्थित किरात खिमका बरिष्ठ पशु चिकित्सक डा. जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट भित्राई खेती शुरु गरेका थिए । यो फल मेक्सिकोमा रैथाने फल हो । विगत एक दशकभित्र यसको सामान्य प्रचार भएपनि व्यावसायिक विकास भएको थिएन । प्रथमत यसको व्यावसायिक खेतीको शुरुवात राष्ट्र विकासमा समर्पित बेलायत तथा सिङ्गापुरका भूतपूर्व सैनिकहरुद्धारा प्रवद्धित गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्थाले २०७० सालबाट शुरु गरेको छ । १२ प्रकारका मिनरल्स तथा भिटामिनहरु पाईने यो फलमा “एन्टीअक्सीडेन्ट” अर्थात क्यान्सर प्रतिरोधात्मक गुण समेत रहेको पाईन्छ । सिउँडी प्रजातिमा पर्ने यो फलको खेती गर्मी हुने ठाऊँहरुमा गर्न मिल्छ । समुद्र सतहदेखि १ हजार ५ सय मीटरसम्मको उचाईमा सफलतापूर्वक यसको खेती भएको छ । मध्यपहाडी, बेशी तथा भित्री मधेश तथा तराईका जिल्लाहरुमा व्यावसायिक खेती गर्न सकिन्छ ।  

Dragon Fruit

खेती व्यवस्थापन :– १ रोपनी जग्गामा १ सय बोट रोप्न सकिने यो फललाई पानी जम्ने र बढी बर्षाद अनि चिस्यानबाट जोगाउनु पर्दछ । प्रति रोपनी १ हजार किलोसम्म फल दिने यो फल सानोमा १५० ग्राम र ठूलोमा १ किलोसम्मको हुने गरेको छ । यसको खेती गर्दा सिमेन्टद्धारा बनाईएको ५ फिटको पिलर वा काठको त्यतिनै थाक्राको अनिवार्य व्यवस्था गर्नु पर्दछ । तुलनात्मक रुपले रोग तथा किरा कम लाग्ने यो फल उपयोगी मानिन्छ । मलिलो माटो, रुखो माटो जुनसुकैमा रोप्न सकिने भएपनि कम्पोष्ट मलको व्यवस्था गर्नुपर्ने हुन्छ । यो फललाई गमलामै पनि रोप्न मिल्छ । कौशि र करेसा बारीमा समेत खेती गर्न मिल्छ ।  

Dragon fruit Fram

विरुवा रोप्ने तरिका :– यो फल दुई तरिकाबाट खेती गर्न मिल्छ । १) ब्यावसायिक :– ६ फीट ८ ६ फीटको फरकमा लाइन मिलाएर २ फीट गहिरो तथा १ फीट चौडा भएको खाल्डो बनाई प्रति बोट २ के.जी कम्पोष्ट मल र माटो मिसाई मोलेर बेर्ना रोप्ने विरुवा रोपेको ठाँऊमा ५ फीट अग्लो सिमेन्ट पिलर वा काठको थाक्रा दिने । २) गमलातर्फ :– कम्तीमा ३ फीट अग्लो तथा ३ फीट नै गोलाई भएको गमलामा मलिलो माटो, कम्पोष्ट मल ५ के.जी. बालुवा र गिट्टी मिसाएर अनुमानित ६ के.जी. गरेर गमलाको मूनि भरेर माथिबाट मल र माटो मिसाएर विरुवा रोप्ने यसमा पनि सिमेन्टको थाक्रा दिने । इच्छा अनुसार खेती :– यो फललाई छाता जस्तो, लहरा जस्तो, बुट्टयान जस्तो गरेर आफ्नो इच्छा र आवश्यक्ता अनुरुप खेती गर्न सकिन्छ ।

विस्तृत जानकारीका लागि :– गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. गोरखा मीलेनियम कम्प्लेक्स् मीनभवन, नयाँ बानेश्वर, काठमाण्डौं, जि.पि.ओ. ८९७३, एन.पि.सी. ६७५ फोन :– ०१–४६२२८८३, ४६२२८४४,४६२११३७